काठमाडौं- शिल्पा सेट्टीका पति राज कुन्द्रा पक्राउ परेसँगै भारतीय फिल्म उद्योग र मिडियामा यसबारे चर्चा चलिरहेको छ। मुम्बइ प्रहरीको क्राइम ब्रान्चले उनलाई सोमबार मध्यरातमा पक्राउ गरेको हो।
गएको फेब्रुअरीमा अश्लिल भिडियो बनाउने सम्बन्धी मुद्दा राजविरुद्ध परेको थियो। त्यसैको छानबिन गर्ने क्रममा मुम्बइ प्रहरीले कुन्द्रालाई पक्राउ गरेको हो।
उनी पक्राउ परेसँगै कलाकार कपिल शर्माले आफ्नो शोमा सोधेको एक प्रश्न यतिखेर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ।
कपिलले शोमा राजलाई सोधेका थिए, 'कहिले कलाकारसँग फुटबल खेलिरहेको भेटिनुहुन्छ, कहिले एक देशबाट अर्को देश उडिरहेको देखिन्छ, कहिले समाचारमा शिल्पाको सपिङ गरेको पढ्न पाइन्छ। हामीलाई पनि उपाय बताउनुपर्यो, बिना काम पैसा कसरी कमाइन्छ?'
प्रश्न सुनेर राजसँगै शोमा गएकी शिल्पा र उनकी बहिनी शमिता सेट्टी हाँसेको देख्न सकिन्छ। जम्मा २२ सेकेण्डको भिडियो कुन्द्रा पक्राउ परेसँगै भाइरल भइरहेको हो। सबैले कपिलको प्रश्नको उत्तर भेटेको बताउँदै भिडियो क्लिप भाइरल गराइरहेका छन्।
यता श्रीमान पक्राउ परेसँगै शिल्पा सेट्टीको पनि ब्यापक खोजी भइरहेको छ। मंगलबार सुटिङको सेडुअल भएपनि उनी सेटमा नपुगेपछि उनको खोजी सुरु भएको हो।
कुन्द्रालाई आगामी शुक्रवार अर्थात् जुलाई २३ सम्म प्रहरी हिरासतमा राखिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।