काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण घरबारविहीन भएकाहरुलाई नेपाली कलाकार मिलेर घर बनाइदिने भएका छन्। बाढी आइरहेका बेला खाद्यान्न र पाल बोकेर सिन्धुपाल्चोक पुगेका कलाकारहरु मिलेर अब भने पक्की घर बनाइदिने भएका हुन्।
कलाकारहरुले बाढीले सबैभन्दा धेरै प्रभावित बनेको मेलम्ची र हेलम्बुमा गरेर ४३ वटा पक्की घर बनाइदिन लागेका हुन्।
कलाकारहरु मिलेर सञ्चालन गरेको सिन्धु सहयोग कोषले घर बनाउने घोषणा गरेको हो। कोषको संयोजक नायिका करिष्मा मानन्धरको नेतृत्वमा कलाकारको टोली मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेर आएको करिष्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएकी छन्।
कोषको घर बनाउने टोलीमा जितु नेपाल, पूजा शर्मा, चेतन सापकोटा लगायत छन्। टोलीले हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालसँग यसबारेमा छलफल गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।