काठमाडौं- सरकारले भारतसँगको उडान संख्या थप गर्ने निर्णय निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको उडान संख्या बढाउने निर्णय गरेको हो।
यससँगै अब नेपाल-भारतबीच सातामा कूल छ वटा उडान हुने भएको छ। नेपाल र भारतबीच एयर बबल सम्झाैता अनुसार हाल सातामा दुई उडान हुँदै आएको छ। थपिएको उडान जुलाई २४ बाट कार्यान्वयनमा आउने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ।
निगमका अनुसार नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा साताको तीन उडान गर्नेछ। नेपाल एयरलाइन्सले सोमबार, बुधबार र शनिबार उडान गर्ने तय भएको जानकारी दिइएको छ। यस्तै एयर इण्डियाले नेपालमा साताको तीन उडान गर्नेछ। कोरोनाभाइरस संक्रमणका कारण भारतलगायत विभिन्न मुलुकसँगको उडान कटाैती गरिएको थियो।
यस्तै, मन्त्रिपरिषद् बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराउने देशलाई धन्यवाद दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
त्यस्तै, सरकारले साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। त्यस्तै, विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन ऐन अन्तर्गत् मेलम्ची र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।