काठमाडाैं- नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने भएको छ।
आज बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविन गर्न गठित छानविन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो।
आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टा भित्र स्पष्टीकरण लिई तीन दिनभित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बस्नेत नेतृत्वको टोलीले शुक्रबार विहान पार्टीका केन्द्रिय सदस्य एवम क्रियाशील सदस्यता छानविन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए।
सोही घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो।
'आजको बैठकको निर्णयअनुसार क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरेर ल्याएको पत्रबमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवं सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण सोधेर तीन दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको छ,' प्रवक्ता शर्माले भने।
बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ। विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए।
बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ। कांग्रेसले आगामी भदाै १६-१९ गते १४औं महाधिवेशनको मिति घोषणा गरेको छ।
यसैबीच पार्टीको केन्द्रीय कार्यालयले पनि आजै विज्ञप्ति जारी गरी यसबारे कारबाही गर्नेबारे जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।