काठमाडौं– ५ वटा विद्यार्थी संगठनले थालेको आन्दोलनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ।
निगम बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो।
लिटरमा १ रुपैयाँ घटाएपछि पेट्रोलको मूल्य १२८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
आयल निगमले यही असार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) तथा खाना पकाउने ग्यासको मूल्य बढाएको थियो।
निगमले त्यतिबेला पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको थियो।
निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एमालेको माधव पक्ष समर्थित), समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले मूल्यवृद्धि फिर्ताको माग राख्दै आन्दोलन घोषणा गरेका थिए।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई लिएर आन्दोलित विद्यार्थी संगठनलाई निगमले वार्तामा समेत बोलाएको थियो। वार्तामा बोलाउँदा समेत विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखेपछि निगम पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाउन तयार भएको हो।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएकाले विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिने अपेक्षा गरिएको निगमका प्रवक्ता विनित मणि उपाध्यायको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।