काठमाडौं- हिमालय एयरलाइन्सले काठमाडौंदेखि दमामसम्मको उडानका लागि उच्च हवाई भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको भनी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आरोप लगाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
एयरलाइन्सले बुधबार विज्ञप्ति जारी गर्दै ती आरोप निराधार रहेको स्पष्ट पारेको छ। हवाई उडान सञ्चालन भएपश्चात् साउदी अरबको दमाममा साप्ताहिक दुई उडान सञ्चालन गरिरहेको एयरलाइन्सले जानकारी दिएको छ।
‘नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो, जसमा अपरिहार्य भाडाअन्तर्गत हवाईभाडा, प्रवासमा क्वारेन्टिइन सुविधा र सम्बन्धित कोभिड-१९ स्वास्थ्य सुविधासहित समावेश गरिएको थियो। सोही निर्देशिकाको पालनामा हाम्रो एयरलाइन्सले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधासहितको बन्डल भाडा सुरू गरेको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बन्डल भाडामा एयरलाइन्स आधार भाडा, सबै नियामक कर, होटल यातायात र सात रात होटल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने दुई पीसीआर परीक्षण सुविधा समावेश रहेको जानकारी दिइएको छ।
‘साउदी अरब सरकारको निर्देशिका अनुसार यात्रुहरू स्वयं क्वारेन्टिनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेन्टिन होटलमा बस्नुपर्ने नियम अनिवार्य गरिएको छ। यस कारण, नियमित हवाई बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको जानकारी दिन चाहन्छौं,’ कम्पनीले भनेको छ।
दमामका लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६० प्रतिशत ओगट्ने र हवाई भाडा कूल लागतको ४० प्रतिशत मात्र हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।