काठमाडाैं- केपी शर्मा ओली सरकारले जाँदाजाँदै सार्वजनिक यातायातको भाडा बढाएको छ। सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हाे।
यातायात व्यवस्था विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षसँगको परामर्शको आधारमा भाडादर समायाेजन गरिएकाे जनाएकाे छ।
विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरिएकाे छ।
यता, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएकाे छ।
उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुने छ।
विभागले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानेर भाडादर निर्धारण गरेको थियो।
अहिले त्यसलाई परिवर्तन गरेर यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडा वृद्धि गरिएको विभागले जनाएको छ।
असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले भाडा वृद्धि गर्न स्वीकृति दिएका थिए। बढेको भाडा असार २९ गतेदेखि लागू भइसकेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।