काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन्। नेपाल-फ्रान्स व्यावसायिक मञ्चको ‘भर्चुअल’ बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए।
अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाइजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आग्रह गरे।
अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराएका थिए। नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउँदै उनले विशेषगरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्याउने, थप २३ लाख रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए।
हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करिब एक अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। व्यापार प्रवर्द्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे आठ अर्ब रूपैयाँ छ।
नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेसनलले आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौंस्थित फ्रान्सेली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो। बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो। बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्युरिटी, बैंकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोबाइल, रेमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि फ्रान्सेली राजदूत फंस्वा-जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी लाभ उठाउन जोड दिए। आपसी लगानी विस्तार गर्न र निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा सावित हुने उनीहरूको विश्वास थियो।
मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजबुद् पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल-फ्रान्स विजनेस फोरम जस्ता मञ्चको अधिकतम उपयोगमा जोड दिए। नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न उनले आग्रह गरे। पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवर्द्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव उनको थियो। बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।