काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझाव बुझाएका हुन्।
सेजनले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड-१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडमा पुर्याएको भन्दै अर्थतन्त्र पुनरुत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ।
'चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ,' सेजनले भनेको छ, 'यसबाट प्रभावित अर्थतन्त्रको पुनरत्थान गर्न मौद्रिक नीतिसामु चुनौती थपिएको छ। एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत समेत दिनुपर्ने परस्परमा विरोधी (म्युचुअल्ली एक्सक्लुसिभ) विषयहरूलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको छ।'
गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे। उनले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालाहरुसँग राष्ट्र बैंकले छलफल गरेको बताए। उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आमसर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको बताए। उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आमसर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने बताए।
'चालु वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौं। हामीले सबै सरोकारवालाहरुसग छलफल पनि गरिसकेका छौं। उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौं,' उनले भने।
सेजन अध्यक्ष गौतमले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।