काठमाडौं– चलचित्र अभिनेत्री (नायिका) जेनी कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रहरीका अनुसार उनी थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार बेलुकी ९ बजे झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सनराइज सिटी अपार्टमेन्टको फ्ल्याटमा झुण्डिएको अवस्थामा कुँवरको शव फेला परेको जानकारी दिए।
एसएसपी सिंहले घटनाबारे मुचुल्का उठाउने काम भइरहेको र मुचुल्का उठाउने काम सकिएपछि शव परीक्षणका लागि अस्पताल पठाइने जानकारी दिए।
कुँवरले ‘जिन्दगानी’ नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन्। उनले ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘विन्तीपत्र’, ‘मलाई माफ गरिदेऊ’, ‘अभिमन्यू’ लगायत चलचित्रमा अभिनय गरेकी छन्। उनले पछिल्लो पटक चलचित्र ‘हलचल’मा अभिनय गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।