भैरहवा- पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध बुटवल पाल्पा अन्तर्गत दोभान सडक खण्ड एकतर्फी रुपमा खुलेको छ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै हेडबक्स भन्ने स्थानमा आज बिहान ३ बजे पहिरो खसेर अवरुद्ध भएको सडक डोजर लगाएर एकतर्फी खुलाइएको छ।
सडक खुलाउन बुटवल र पाल्पाका ३ वटा डोजर परिचालन गरिएको थियो। दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
एकतर्फी भए पनि सडक खुलेपछि बुटवलबाट स्याङ्जा, पोखरा, बाग्लुङ, गुल्मी, अर्घाखाँची तथा पाल्पाकै विभिन्न स्थान जान बीच बाटोमा रोकिएका यातायातका साधन गन्तव्यतर्फ जान थालेका छन्।
पहिरोमा परी बेपत्ता रेस्मीको शव फेला
यसैबीच पहिरोमा परेर बेपत्ता भएका पाल्पा मस्यामका मोहन रेश्मीको शव आज दिउँसो भेटिएको छ। चार जनाको समूहमा बिहानै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेकामध्ये पहिरोमा परेर मृत्यु भएका रेग्मीको शव भेटिएको प्रहरीले जनाएको छ। उनको शव सडकभन्दा केही मिटर तल फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।