काठमाडौं– लमजुङस्थित मध्यमर्स्यांदी जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनको टावर बाढीले बगाएपछि दैनिक ३ करोड रुपैयाँको बिजुली खेर जान थालेको छ।
असार १९ गते बिहानको बाढीले प्रसारण लाइनको टावर बगाएपछि (ढालेपछि) नेपाल विद्युत् प्राधिकरणको मध्यमर्स्याङ्दी आयोजनासहित निजी क्षेत्रका सगरमाथा तथा खुदी जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट बिजुली राष्ट्रिय ग्रीडबाट विच्छेद भएको हो।
मध्यमर्स्याङ्दी आयोजनाका कर्मचारीका अनुसार बाढीले बगाएको प्रसारण लाइनको टावर बनाउन अझै ३ महिना लाग्ने भएको छ। दैनिक ३ करोडको बिजुली खेर गइरहेको हिसाबले टावर निर्माण गरिसक्दा (३ महिनासम्म) विद्युत प्राधिकरण र निजी कम्पनीहरुलाई ३ अर्ब रुपैयाँ बराबरको घाटा हुने कर्मचारीहरु बताउँछन्।
बाढीले टावर ढलाएपछि अहिले केही ठाउँको विद्युत् आपूर्तिमा समेत समस्या भएको छ। विद्युत प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रबन्धक माधव पौडेल भने टावर ढलेको क्षेत्रमा आपत्कालीन अवस्था सिर्जना भएकाले तत्कालै नयाँ प्रविधिको प्रयोगमार्पत विद्युत् आपूर्तिलाई शुरु गर्ने तयारी भइरहेको बताउँछन्।
पौडेलका अनुसार नयाँ प्रविधिको इमर्जेन्सी टावर खडा गरी विद्युत् आपूर्तिलाई शुरु गर्नेगरी आवश्यक कार्य थालिएको छ। रक्सौल- परवानीपुर १३२ केभी प्रसारण लाइनको टावर केही वर्ष अगाडि हुरीले ढाल्दा पनि यही प्रविधिको प्रयोग गरी ४ दिनमै विद्युत् आपूर्ति शुरु गरिएको थियो।
मध्यमर्स्यांदीको हाल ढलेको टावर रहेको ठाउँमा वैकल्पिक टावर खडा गरी विद्युत आपूर्ति शुरु गर्नका लागि प्राधिकरणले प्रारम्भिक कार्य थालिसकेको पौडेलले जानकारी दिए।
उनका अनुसार अहिलेका लागि ठेकेदार कम्पनी मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई इमर्जेन्सी टावर निर्णाको जिम्मा दिइएको छ। प्राधिकरण र ठेकेदार कम्पनीका प्रतिनिधिले टावर ढलेको स्थानको स्थलगत निरीक्षण गरेको र केही दिनमै विद्युत् आपूर्ति गर्नेगरी काम शुरु गरिने पौडेलले जानकारी दिए।
मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनका प्रतिनिधि केदार कुमार फुयालका अनुसार टावर ढलेको स्थान मोटर बाटोबाट करिब २ घण्टाको पैदल दूरीमा छ। बाढी तथा पहिरोले बाटो बिग्रेका कारण टावर ढलेको स्थानसम्म सामानहरु ढुवानी गर्ने काम चूनौतीपूर्ण रहेको छ।
तर, सबै कामदारहरु परिचालन गरी आवश्यक सामानहरु पुर्याउन शुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि फुयालले जानकारी दिए। सुक्रबार (असार २५ गते)सम्म सम्पूर्ण सामान पुर्याउन सकिएमा सोमबार (असार २८ गते) देखि 'लाइन चार्ज' गर्न सकिने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।