अनुभूति
— प्रकाश गजमेर —
भुइँमा साँझले साम्राज्य जमाउन थालिसकेको थियो। म देखिरहेको थिए एक युवक एयरपोर्टको मूल गेअगाडि ट्याक्सीबाट फुत्त ओर्लियो ठूलो झोला बोकेर। लगत्तै झरे– बूढा बा, बूढी आमा अनि श्रीमतीको साथमा सानो छोरो।
झोला बिसाए ती युवाले। र, श्रीमतीको साथबाछ छोरो आफूतिर लिँदै भन्न लागे, 'बाबु, म पारि… जान लागेको। फर्किएर आउँदा राम्रो नाना अनि पापा ल्याइदिन्छु है।'
तोतेबोलीको मिठाससँगै अबोध बालक खुसीले उन्मुक्त भइहाल्यो। यता श्रीमतीको आँखा भने जमेको पोखरीझैं बनिसकेको थियो।
मजेत्रो आँखातिर लैजादै उनले भनिन्, 'नर्बिसिनु है, आफ्नो स्वास्थ्यको ख्याल राख्नु। विचार गरेर मात्र यताउता हिँड्नु। म छँदैछु, आमाबाबा र बाबुको चिन्ता नलिनु।'
युवक पीडा र वियोगको अवस्थामा थियो। घरी ऊ आफ्नी श्रीमती हेर्दथ्यो त घरी छोरो अनि बाआमातिर। ऊ मात्रै भक्कानिन सकेको थिएन। सायद उसले बुझेको हुनुपर्छ– म रुन थालेँ भने यहाँ कोकोहोलो मच्चिनेछ।
लगभग ६०/६५ वर्षका झैं लाग्ने बाआमा पनि टुक्रुक्क बसेर मुखामुख गरिरहेका थिए। उनीहरुबाट कुनै शब्द फुत्किन सकेको थिएन। बरु, युवक आफैं सम्हालियो र भन्यो, 'बुबा चिन्ता नलिनुस है। आफ्नो ख्याल गर्नुस्। म निकै राम्रो कमाइ गर्छु र तपाईंहरुको धेरै रहर पूरा गर्छु।'
'बाबु, तँ आउँदासम्म हामी बूढाबूढी मरिसक्छम् होला…' गला अवरुद्ध बनाउँदै बाले भने, 'हामीलाई भेट्न पाइनस् भने यो नाति र बुहारीको चाहिँ राम्रो ख्याल गर्नु है।'
उता आमा सुँकसुँकाउन थालिसकेकी थिइन्। छोरोको शिरमा हात राख्दै सुस्तरी बोलिन् उनी पनि, 'म पनि रोगी छु छोरा। हाम्रो के भर… तेरो जिन्दगी राम्रोसँग बिताउनु। विदेशको ठाउँमा भोकै होलास्, समयमै खानू। हामी त गाउँघरमा ढिँडोफाँडो खाऊँला…।'
वृद्ध बाआमाको सहारा जवान छोरो आज वैदेशिक रोजगारका लागि उड्दैछ खाडी। सायद आमाले महसुस गरिन्, साथमा रहेको छोरो अब टाढा हुनेछ। त्यही भएर, उनले साथमा रहेको लौरो सुमसुम्याइन्।
समय निकै छोटो थियो। युवकले थप संवाद गर्न चाहेन। बरु उसको आँखाबाट खहरे उर्लिन थाल्यो। अलिकति उता गयो र पाइन्टको गोजीबाट रुमाल झिकेर पुछ्न थाल्यो।
'तैं थिइस् छरछिमेकको पनि सहारा। अब त को छ र गाउँमा,' बाबुले भन्न थाले, 'केटाकेटीहरु पनि छैनन्। सबै सहर र विदेशतिर लागिसके। अब त गाउँघर हामी जस्ता बूढाबूढीकै त बन्यो। बिमार पर्दा बोकेर अस्पताल लाने मान्छेसम्म छैनन्।'
सानो छोरो भने आफ्नो धुनमा थियो। उसलाई के थाहा, आफ्नो बाबा परिवारका लागि खुसी र सुख किन्न अन्जान मरुभूमिमा रगत र पसिना बेच्न जाँदैछन्।
लगभग २ घन्टाजति मैले यो दृश्य नियालिइरहेँ।
युवाको गलामा माला थियो। निधारमा रातो टीका। तर अनुहार मलिन। उसले बायाँ हातको घडीतिर हेर्यो अनि झोला तयार पारेर क्याप मिलायो, जुन म्यानपावर कम्पनीले भिराइदिएको थियो।
झोला उठायो। श्रीमतीलाई एकछिन अँगालोमा बेर्यो अनि छोरोको गालामा म्वाइँ खायो। अब भने श्रीमतीको आँखामा अघिदेखि जम्मा भएको पोखरी फुट्न थालिसकेको थियो। बाआमामा आँखा रसाउन थाले।
उसका पाइला फटाफट अघि बढे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटतिर।
मैले नियालेँ– ती बूढा बाको स्टकोट धेरैअगाडि फेरिनुपर्ने थियो। आमाको आङले नयाँ चोलो खोजिरहेको थियो।
उनीहरु फर्कने तयारीमा थिए। मैले ट्याक्सी रोकेँ र भने, 'बाआमालाई कोटेश्वरसम्म लगिदिनुस्।'
म पनि ट्याक्सीमा चढे। तर मनभरि अनगिन्ती कुरा खेलिइरहे। साँच्चिकै मेरो मन अमिलो भएको थियो। धेरै नेपालीको मन यसरी नै कुँडिएको छ हिजोआज। आमाको चोली, बाउको स्टकोट, श्रीमतीको रहर र छोराको राम्रो नानापापा अनि स्कुल पढाउने रहरका लागि धेरै मनहरु विछोडिएका छन्।
विछोडिएको ती मनहरु फेरि एक हुने नहुने कुनै निधो छैन। रहर पूरा हुन्छन् हुन्नन् थाहा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।