काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहिबारदेखि ट्राफिक नियम पालनामा कडाई सुरु गरेको छ। विभिन्न ७ किसिमका कसुरमा जरिवाना बढाएर एक हजार रुपैयाँ पुर्याइएको छ।
यातायात व्यवस्था विभागले आफुहरुलाई एक हजार रुपैयाँसम्म जरिवाना लिन पाउने अधिकार दिएको महाशाखाका निमित्त प्रमुख एसएसपी बसन्त पन्तले बताए।
उनका अनुसार सिट क्षमता भन्दा धेरै यात्रु राखेमा, सार्वजनिक यातायातमा तोकिउ बमोजिम सिट सुरक्षित नराखेमा, पटके इजाजत नलिई सवारी चलाएमा, सार्वजनिक सवारीमा धुम्रमान गरेमा, हर्न बजाउन नपाउने ठाउँमा हर्न बजाएमा, तिव्र गतिले सवारी चलाएमा र दुर्घटना गरी फरार भएमा एक हजार रुपैयाँ जरिवाना हुने छ।
ट्याक्सीमा भित्र पनि नम्बरप्लेट
ट्याक्सीहरुले यात्रुले देख्नेगरी भित्रपनि अनिवार्य रुपमा नम्बरप्लेट टास्नुपर्ने नियम लागू गरिएको छ। कुनै सामान छुटेमा नम्बर याद गर्न सजिलो होस् भनेर यस्तो नियम लागू गरिएको हो। महाशाखाका एसएसपी पन्तका अनुसार धेरै जसो ट्याक्सीहरुले नम्बर टाँसिसकेका छन्। ट्याक्सी व्यवसायीहरुलाई बोलाएर महाशाखाले यस्तो निर्देशन दिइसकेको छ।
नियम पालनामा बिशेष अभियान
६ किमिसमा नियम पालनामा महाशाखाले बिशेष अभियान सुरु गरेको छ। बस स्टपमा मात्र पिक एक डन्प, सार्वजनिक सवारी चलाउन यात्रुलाई लाइन लगाउने, लेन अनुशासन कारबाही, जेब्राक्रसिङको प्रयोग र प्राथमिकता, अकाशेपुलको प्रयोग र सडक तथा फुटपाथ व्यवस्थापनमा महाशाखाले बिशेष अभियान सुरु गरेको हो।
त्यस्तै कान्तिपथबाट चल्ने पर्यटक बसहरुलाई नयाँबसपार्कमा सार्न तयारी पनि महाशाखाको छ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ३२ बुँदे तथा प्रहरी महानिरीक्षकको १० बुँदे कार्ययोजनाअनुसार आफुहरुले नयाँ अभियान सुरु गरेको ट्राफिक महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।