काठमाडौं- नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन्।
बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको हो। त्यस्तै, ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ।
सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारीसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालासँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको छ।
निगममा रहेको तीनवटै ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरूलाई घाइते बनाएकोप्रति पनि संयुक्त ट्रेड युनियनले भर्त्सना गरेको नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले बताए।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको सम्पत्तिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आमकर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखि सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएकाले पौडेलको राजीनामा माग्नुपरेको महासचिव लम्सालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।