काठमाडाैं- नेपाल उद्योग परिसंघले कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो उपलब्ध गराएर आर्थिक गतिविधि सञ्चालन गर्न सकिने बताएको छ।
आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकलाई दिएको सुझावबारे कुरा गर्दै अध्यक्ष शतिसकुमार मोरले अघिल्लो वर्ष कोरोनाको समयमै आएको मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गरेजस्तै यो वर्ष पनि कोभिडको कारण ह्रास भएको क्षेत्र खोपको सुनिश्चित भए माथि उकासिने बताए।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको ब्याजदरलाई एक अंकमा स्थिर राख्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनर्कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको उनले जानकारी दिए। आगामी आर्थिक वर्षको मौद्रिक नीतिले 'स्टर्टअप बिजनेस'मा आउने युवालाई समेटेर कार्यक्रम ल्याउन पनि सुझाव दिइएको अध्यक्ष मोरले बताए।
मौद्रिक नीतिले 'मेक इन नेपाल'लाई सहयोग पुग्नेगरी नीतिगत व्यवस्था गरिदिए आयात कम गरेर निर्यातको प्रतिशत बढाउन सकिने उद्योग परिसंघले सुझाव दिएको छ।
परिसंघको सुझाव ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अघिल्लो वर्षझैँ आर्थिक गतिविधि चलायमान बनाउन, यो वर्षको मौद्रिक नीतिले व्यवसाय र व्यवसायीलाई काम गर्ने सहज वातावरण बनाउनेगरी व्यवस्था गर्ने विश्वास दिलाएको अध्यक्ष मोरले बताए। आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो हप्ता सार्वजनिक गरिँदै छ। उद्योग परिसंघसँगै उद्योग वाणिज्य महासंघ, चेम्वर अफ कमर्स र बैंकर संघले राष्ट्रबैंकलाई सुझाव दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।