काठमाडौं– सुजिता भण्डारीको ‘शंकास्पद’ मृत्युलाई लिएर विरोध प्रदर्शन बढ्दै गएपछि चितवनका केही क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ।
मंगलबार साँझ साढे ७ बजेबाट लगाइउको कर्फ्यु आज बेलुकी साढे सात बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै भीड जम्मा पारी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्न थालेपछि कर्फ्यू जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू जारी गरिएको हो। कर्फ्यू अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी १ महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ।
साथीको घर जान्छु भनेर असार ११ गते बिहान करिब ६ बजे निस्केकी भण्डारीको शव १० दिनपछि जंगलमा भेटिएको थियो। राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा च्याउन टिप्न गएका स्थानीयले आइतबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
असार ११ गतेबाट सम्पर्कविहीन भएपछि उनले सोही दिन करिब १२ बजे अन्तिम कल दिदीलाई गर्दै आफूलाई ३ जनाको समूहले अपहरण गरेर लगेको बताएकी थिइन्। अपहरणमा परेको जानकारी गराएपछि उनको परिवारले यसबारे प्रहरीलाई पनि जानकारी गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।