काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार चैत २ मा सम्हालेका मन्त्री रवीन्द्र अधिकारीले चैत १६ मा पत्रकार सम्मेलन गरि १ सय दिनका कार्ययोजना प्रस्तुत गरेका थिए। सय दिने कार्ययोजनामा मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समयलाई बढाइएको विषयलाई प्राथमिकताका साथ राखे।
१८ घन्टा सञ्चालनमा रहेको विमानस्थललाई जेठ ७ देखि बढाएर २१ घन्टा सञ्चालनमा ल्याइएको थियो। विमानस्थलमा रिबन काटेर नै मन्त्री अधिकारीले २१ घन्टा सञ्चालनको आरम्भ गरेका थिए।
जेठ ११ मा सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयको उपलब्धिका मुख्य काममा त्रिभुवन विमानस्थलको सुधारलाई उल्लेख गरेका थिए। उपलब्धिको पहिलो बुँदामा अधिकारीले अन्तर्राष्ट्रिय विमानहरुको चापलाई न्यूनीकरण गर्न सकिएकोप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
तर, जेठ ७ बाट तीन घन्टा बढाइएको भए पनि विमानस्थल भने पहिलाजस्तै १८ घन्टाभन्दा बढी सञ्चालनमा आउन सकेको छैन। विमानस्थलका एक कर्मचारीले भने, 'विमानस्थल जेठ ७ अघिकै अवस्थामा सञ्चालित छ।'
अध्यागमन कार्यालय विमानस्थलका प्रमुख होमनाथ थपलिया पनि विमानस्थल आफूहरुले २१ घन्टा डिउटीमा कर्मचारी खटाए पनि थपिएको ३ घन्टाको उपयोग नभएको बताउँछन्। '२१ घन्टा विमानस्थल सञ्चालन भएयता राति १२ बजेपछि एउटै जहाज अवतरण भएका छैनन्,' उनी भन्छन्।
अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणपछि सुधारका लागि मन्त्री अधिकारीले दिएका निर्देशनहरु पनि कार्यान्वयन भएका छैनन्। त्रिभुवन विमानस्थलमा राखिएका रक्सीका विज्ञापन हटाउन, भारतीय विज्ञापनका होर्डिङ बोर्डका स्थानमा नेपालका प्राकृतिक सम्पदाका तस्वीरहरु राख्न मन्त्री अधिकारीले निर्देशन दिएका थिए। तर, नेपालको पहिचान झल्किने तस्बिर र होर्डिङ बोर्ड राखिनुपर्नेमा अझै भारतीय कलाकारलाई प्रयोग गरी बनाइएका विज्ञापनहरु हटेका छैनन्।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विज्ञापन र होर्डिङ बोर्डहरु एकैसाथ हटाउन प्रक्रियागत कठिनाइ रहेको बताए। 'मन्त्रीज्युको निर्देशन आएको छ। तर, त्यस्ता विज्ञापन र होर्डिङ बोर्डहरुको सम्झौता अवधि बाँकी छ,' उनले भने, 'कसैको १ महिना, कसैको २ महिना, ५ महिना गरेर सम्झौता अवधि बाँकी छ। अहिले एक्कासी हटाउँदा अदालतको कुरा आउन सक्छ, क्षतिपूर्तिको कुरा हुन्छ। त्यसैले सम्झौता सकिँदै गएकाहरुलाई हटाउँदै लैजाने निर्णय भएको छ।'
यस्तै, विदेशी नागरिकलाई लक्षित गरी बनाइएका मास्टर कार्ड रिडर एटिएम मेसिन बिग्रिएको अवस्थामै छ। मन्त्री भए लगत्तैको अनुगमनमा अधिकारीले एटिएम मेसिन बनाउन निर्देशन दिएका थिए। प्रवक्ता ठाकुरका अनुसार एटिएम मेसिनका लागि सूचना जारी गरेर प्रतिस्पर्धाबाट राख्ने निर्णय भएकाले ढिलाइ भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।