काठमाडौं- बैंकिङ कसुरमा फरार रहेका कलाकार तथा निर्देशक शिशिर शमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्दै आएका ५० वर्षीय जबरालाई सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौं बिजुली बजारबाट पक्राउ गरेको हो।
जबराविरुद्ध बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७७ पुस २६ गते १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। फैसला भएपनि उनी फरार रहेकाले प्रहरीको खोजी सूचिमा थिए।
२०७६ सालमा उनले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि रकम लिएका थिए।
तर,पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपैंया बराबरको चेक काटेर दिएका थिए।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।
राणाले फिल्म पोई पर्यो काले र तिमीसँगको निर्देशन गरेका छन्। त्यस्तै वडा नम्बर ६, वीर विक्रम, रामकहानी लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।
राणा माला नामको फिल्म बनाउने तयारीमा थिए । नायक दिक्पाल कार्कीलाई फिल्ममा साइन समेत गराइसकेका राणाको फिल्म लकडाउनका कारण अघि बढ्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।