काठमाडौं- नेपाल वायु सेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकारलाई आग्रह गरेको छ। उसले निषेधाज्ञा अगाडिकै उडान संख्या कायम गराउन सरकारसँग माग गरेको छ।
हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने संघले जनाएको छ। अहिले परेको अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पुर्याएकाले कतिपय उद्धार गर्नुपर्ने र यात्रुहरूले हवाई यात्रा नै रोज्ने भएकाले हालको उडान संख्याले नहुने संघको भनाइ छ।
'उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ। उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ', संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निषेधाज्ञा अगाडि झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोर दोहर गरेको रेकर्ड छ। यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै हो।'
संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउका साथ पालना गरिरहेको संघले दाबी गरेको छ।
'विश्व स्वास्थ्य संगठनले पनि मास्कको प्रयोगबाट करोना नसर्ने पुष्टि गरेको छ। ह्याण्ड स्यानिटाइजर, मास्क र फेसशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छे जहाजको संक्रमणरहित सरसफाईमा विशेष ध्यान दिएका छौं', संघले भनेको छ, 'तसर्थ यस विषम् परिस्थितिमा नेपाल वायु सेवा सञ्चालक संघ सरकारसँग हातेमालो गर्न तयार छ। हामी यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिवद्धता व्यक्त गर्दछौं। सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।