फाइल तस्वीर
काठमाडौं– कोरोना भाइरस महाकारीका कारण निषेधाज्ञाका बीच गत जुन महिनामा १ हजार १०० जना विदेशी विदेशी नेपाल भित्रिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका हुन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो।
अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट १ हजार १४३ विदेशी नेपाल भित्रिएका हुन्। यसमा ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य छन्।
विभागको तथ्याङ्कअनुसार जुन महिनामा १ हजार १४३ जना विदेशीका अतिरिक्त ९ हजार ५५९ जना नेपाली स्वदेश भित्रिएका छन्।
निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन्। जुन महिनामा ३ हजार ६०६ जना विदेशी बाहिरिएका छन्। एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै ३ हजार ६०६ जना विदेशी र ९ हजार ६५१ नेपाली गरी १३ हजार २५६ जना बाहिरिएका हुन्।
कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका थिए। विभागको तथ्याङ्कअनुसार अप्रिल महिनामा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए। सन् २०२१ को छ महिनामा नेपालमा विभिन्न देशका ५८ हजार ५८ जना विदेशी पर्यटक भित्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।