बागलुङ– बागलुङ नगरपालिकाको पहलमा यहाँका ५२ वटा धार्मिक तथा आध्यात्मिक संस्थाले सौर्य ऊर्जा प्रणाली (सोलार) सहयोग पाएका छन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएका सोलार बिहीबार नगरपालिकाले सम्बन्धित संस्थालाई वितरण गरेको हो। ५२ वटै संस्थाले २० वाट क्षमताका सोलार प्यानल, २० एम्पियरको ब्याट्री, तीनवटा बल्व र कन्भर्टर पाएका छन्। ११ हजार ५ सयका दरले ५ लाख ९८ हजार रुपैयाँ बराबरको सोलार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो।
सोलार सहयोग भित्र्याउन बागलुङ नगरपालिकाले विशेष पहल गरेको नगरप्रमुख जनकराज पौडेलले बताए। ७० वटा संस्था पहिचान गरी सिफारिस गरिएकोमा जम्मा ५२ वटाको मात्र स्वीकृत भएको उनको भनाइ छ।
छुटेका संस्थालाई पुनः नयाँ प्रक्रियाबाट सोलार सहयोग ल्याइने जनाइएको छ। धार्मिक संस्थामा बिजुलीको वैकल्पिक व्यवस्थाका लागि सोलार उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
बिजुली नपुगेका ठाउँमा सौर्य ऊर्जा प्रणाली झन् प्रभावकारी हुने देखिएको छ। धार्मिक संस्थालाई नगरपालिकाले गरेको सहयोग उल्लेखनीय रहेको ओमकारेश्वर मन्दिरका अध्यक्ष देवबहादुर श्रेष्ठले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।