काठमाडौं- कोरोना भाइरसको संक्रमण सुरु भएसँगै निस्क्रिय बनेको नेपाली फिल्म क्षेत्र चलमलाउन सुरु गरेको छ। फिल्मी क्षेत्रका अधिकांश काम रोकिएको बेलमा फिल्म 'तिम्रो मेरो साथ'को डबिङ सुरु भएको हो।
फिल्मको डबिङ रेड स्टुडियोमा भइरहेको फिल्मका मुख्य कलाकार पुष्प खड्काले जानकारी दिए। उनका अनुसार डबिङको पहिलो चरणको काम सकिएको छ, तर यसका केही पाटो भने फाइनल हुन बाँकी छ।
रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन्।
चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन्। चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। यो चलचित्रलाई नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ।
नेपालमा भने दशैं र तिहारको बीचमा रिलिज गरिनेछ। बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन मगरको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।