काठमाडाैं- कोभिड-१९ को दोस्रो लहर नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द भएका टेलिभिजन कार्यक्रमहरु धमाधम सुरु हुन थालेका छन्।
कहिले सञ्चालनमा आउँदै, बन्द हुँदै गरेको लोकप्रिय कार्यक्रम 'कमेडी च्याम्पियन' शुक्रबारबाट टेलिभिजनमा प्रसारण हुने भएको छ। निषेधाज्ञाको समयमा छायांकन गर्न सम्भव नभएपछि कमेडी च्याम्पियन करिब दुई महिना बन्द भएको थियो। प्रतियोगितामा सहभागीलाई कोरोना 'पोजिटिभ' हुँदासमेत एक हप्ता बन्द गरेर अर्को हप्ताको कार्यक्रम चलाएको सोले केही उपाय नचलेर कार्यक्रम बन्द गरेको थियो।
त्यस्तै अर्को लोकप्रिय कार्यक्रम 'जुठे' पनि शुक्रबारबाटै निरन्तर प्रसारण हुने भएको छ। जातीय विभेद निम्त्याएको भन्दै विभिन्न विरोधको सामना गर्दै आएको टेलिशृंखला जुठे पनि निषेधाज्ञाकै कारण रोकिएको थियो। उक्त टेलिशृंखलाको १६औं भाग शुक्रबार प्रसारण हुनेछ। यसका लेखक तथा निर्देशक मरिचमान श्रेष्ठले दर्शकले दिएको सल्लाह र सुझावअनुसार टेलिशृंखलालाई परिष्कृत र परिमार्जित गर्दै लैजाने बताएका छन्।
निषेधाज्ञाको समयमा बन्द हुँदै, प्रसारण हुँदै गरेको गायन रियालिटी सो 'भ्वाइस अफ नेपाल' पनि शुक्रबारबाट पुरानै लयमा फर्कँदै छ। उक्त कार्यक्रम साताको दुई दिन प्रसारण हुँदै आएकोमा बीचमा एक दिनमात्र प्रसारण गरिँदै आएको थियो। अब भने हप्ताको दुई दिनलाई निरन्तरता दिइने निर्माण पक्षको भनाइ छ।
कार्यक्रमका कोच दीप श्रेष्ठ कोरोना पोजिटिभ भई अस्वस्थ भएपछि उनको ठाउँमा अघिल्लो साता अर्का गायक राजेशपायल राईलाई 'स्ट्यान्ड इन कोच'को रुपमा राखिएको थियो। यो साता पनि उनैले सोलाई निरन्तरता दिनेछन्। स्वास्थ्य सावधानी अपनाउँदै सोको छायांकन भइरहेको बताइएको छ। भ्वाइस अफ नेपालमा यतिखेर नकआउट चरण चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।