काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदका लागि विनाधितोको सहुलियत कर्जासम्बन्धी सम्झौता भएको छ।
यस सम्झौताअन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त एक हजार ५०० ग्राहकले टाटा मोटर्स ब्राण्डका पिकअप र कार्गो गाडी खरिदका लागि सांग्रिला डेभलपमेन्ट बैंकबाट विनाधितो अधिकतम ७० प्रतिशत कर्जा एक प्रतिशतभन्दा न्यूनतम सेवा शुल्कमा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको कम्पनीको भनाइ छ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के र सिप्रदी ट्रेडिङका कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन्।
सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदीका देशभरि रहेका सम्पूर्ण डिलर र सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।