काठमाडौं– ३८ सय किलो सुन तस्करीमा मुख्य अभियुक्तको रुपमा हेरिएका चूडामणि उप्रेती 'गोरे' र एसएसपी श्याम खत्रीको बयान आपसमा बाझिएको छ।
केही दिनअघि गोरेले सुन तस्करीमा विमानस्थलको ठेकेदार खत्री भएको बताएका थिए। तर, खत्रीले बिहीबार मोरङ जिल्ला अदालतमा दिएको बयानमा आफूलाई विमानस्थलबाट सुन तस्करी हुने गरेकोबारे जानकारी नै नभएको बताएका छन्।
एसएसपी खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गर्दै उल्टै गोरेले फसाएको बताएका छन्। बयानका क्रममा एसएसपी खत्रीले विमानस्थलबाट भएको सुन तस्करीमा आफ्नो संग्लनता नरहेको भन्दै आफूमाथि लागेको आरोप गलत भएको बताएका छन्।
खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बयानमा जिकिर गरेका छन्। मिलेर सुन तस्करी गरौं भन्दै आएका उनलाई आफूले हप्काएर पठाएको उनले बयानमा बताएका छन्। गोरेले आफूलाई डिआइजी गोविन्द निरौलाको व्यक्ति भन्दै धम्क्याउने गरेको उनले अदालतमा बताएका छन्।
गोरेले बयानका क्रममा खत्रीले सुन छुटाएबापत प्रतिकिलो ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए। गोरेले सुन तस्करीमा गोविन्द निरौलाको संलग्नता नरहेको र खत्री नै मुख्य व्यक्ति भएको बयानमा भनेका थिए। विमानस्थलमा सीधै खत्रीको कक्षमा सुन बोकेर प्रहरीहरु पुग्ने र उक्त सुन गाडीमा राखेर खत्रीको घरमा लैजाने गरेको दाबी गोरेले गरेका थिए।
गोरेले खत्री आएपछि मात्र विमानस्थलमा सुन तस्करी सहज रुपमा हुने गरेको बताएका थिए। तर, एसएसपी खत्रीले ती सबै आरोप अस्वीकार गरेका छन्।
जिल्ला अदालतले एसएसपी खत्रीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिए अनुसार उनलाई झुम्का कारागार पठाइएको छ। गोरेलाई पनि सोही कारागारमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।