काठमाडौं– करिब ३८ सय किलो सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन्।
मोरङ जिल्ला अदालतमा आज भएको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले जेल चलानको आदेश दिएको हो। सुन तस्करीसँग जोडिएका २९ जना अभियुक्त जिल्ला अदालतको आदेशले थुनामा गएपछि मुख्य आरोपीमध्ये एक खत्रीको खोजीमा प्रहरीले रेड कर्नर नोटिससमेत जारी गरेको थियो। उनले आजै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए।
सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ले खत्री विमानस्थलमा रहँदादेखि सम्पूर्ण सुन भित्र्याउने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको पनि गोरेले बयान दिएका थिए। खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयानमा उल्लेख छ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ। उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।