रत्ननगर- गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारीविरुद्ध स्टिङ अपरेसन जरुरी रहेको बताएका छन्। नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यसविरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे।
'भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेसन गर्नु जरुरी छ,' उनले भने, 'चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघसंस्था या विभिन्न व्यावसायिक क्षेत्रका।'
लागुऔषध कारोबारी, राजस्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजीपती, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उनले फोटो पत्रकारलाई ध्यानाकर्षण गराए।
विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उनले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याए। 'नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन,' उनले भने, 'तस्कर, सिन्डिकेटवाला, दलाल भ्रष्टाचारी नै हुन्।'
महासंघको ५२ जिल्ला शाखामध्ये भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।