धनगढी- धनगढी लगायतका क्षेत्रमा छाडा पशु चौपायाको समस्या बढ्दै जाँदा तिनको व्यवस्थापनका लागि बझाङ जिल्ला लगेर गरिब तथा विपन्न परिवारलाई नि:शुल्क वितरण गरिने भएको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख, बझाङको खप्तड छान्ना गाउँपालिका र सुर्मा गाउँपालिकाका प्रमुखबीच बुधबार यससम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबीच हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा छाडा गाईबस्तुलाई धनगढी उपमहानगरपालिकाले धनगढीबाट बझाङसम्म पुर्यामउने र बझाङका यी दुई गाउँपालिकाले तिनलाई समुदायमा वितरण गरेको सम्बन्धी भर्पाई धनगढी उपमहानगरलाई दिनुपर्ने उल्लेख छ।
पहिलो चरणमा खप्तड छान्ना गाउँपालिकाले तीन सय गाई-गोरु र सुर्मा गाउँपालिकाले ६ सय गाईगोरु लैजाने सहमति भएको सुर्मा गापाका अध्यक्ष नरबहादुर बोहराले बताए।
बोहराले भने, 'धनगढीबाट लगेका गाई-गोरु गरिब तथा विपन्न परिवारमा बाँड्छौं, गरिब तथा विपन्नले गाई किन्न नसक्दा दूध खान पाएका छैनन्।'
बझाङमा गाई गोरु लैजाने योजनाबाट जिल्लाको पोषणको अवस्थामा सुधार आई स्थानीय गरिब जनताको आर्थिक अवस्था पनि सुध्रिने विश्वास गरिएको छ।
विगत दुई वर्षयता कैलाली जिल्ला र खासगरी धनगढी उप–महानगरपलिका क्षेत्रमा पशु चौपाया छाड्ने प्रवृत्ति बढ्दै जाँदा यसले बजारमा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गराउनुका साथै किसानको अन्नबाली खाएर नोक्सान पुर्यामइरहेको छ।
यी चौपायाको व्यवस्थापनका लागि भन्दै उपमहानगरले केही ठाउँमा गौशाला निर्माण समेत गरेको छ। छाडा गाई-गोरुको व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने भन्दै यहाँ हालै महायज्ञ समेत गरिएको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।