काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ। आइतबार रिट निवेदक पक्षका केही कानुन व्यवासायीले बहस गरेसँगै अब सभामुख र सरकारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस बाँकी छ।
रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै आइतबारको बहस पनि सकिएको हो। अब सोमबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूलाई एक घण्टा समय दिएको छ।
प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुखका कानुन व्यवसायीलाई एक घण्टा समय दिने बताएपछि महान्यायाधिवक्ता रमेश बडालले प्रश्न उठाएका थिए। उनले छुट्टै समय व्यवस्थापन गर्न भने। जवाफमा प्रधानन्यायाधीश राणाले सरकारी पक्षलाई बहसका लागि १४ घण्टा दिने बताए।
रिट निवेदक तर्फका कानुन व्यवसायीले बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६(५)मा दलीय ह्विप नलाग्ने ब्याख्या गरेका छन्।
सरकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन्। सुरुकै दिनदेखि इजलासमा उपस्थित भएर बहसको तयारी गरेका बडालले सरकारका तर्फबाट धेरै समय वहस गर्नेछन्। उनले लामो समय बहस गर्ने अनिमात्र नायव महान्यायाधिवक्ताले वहस गर्ने तयारी गरेका छन्।
जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।