काठमाडौं- एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी दाबी गर्दै आएको एकीकृत पार्टीले यसअघि दिएको निवेदन सच्याउँदै आज पुन: अर्को निवेदन निर्वाचन आयोगलाई बुझाउँदैछ।
हिजो सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा नामको पछाडि (नेकपा) थप गर्ने सहमति भएपछि आयोगमा उक्त नाम सच्चाउन लागिएको हो। नेकपाका प्रमुख सचेतक देव गुरुङले पार्टीको नाममा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगमा दिएको निवेदन सच्चाउन जान लागेका बताए।
दुई पार्टीबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) को नाममा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको थियो। आयोगले उक्त नाममा यसअघि नै आयोगमा दर्ता रहेको भन्दै अन्डरलाइन राखेर दर्ता गरेको थियो। आयोगको उक्त निर्णय स्वीकार गर्दै उनीहरुले दर्ताका लागि आवश्यक कागजात बुझाएका थिए। तर पार्टीको नाममा अन्डरलाइन राख्दा जनता झुक्किने भन्दै पछाडि छोटकारी नामलाई समेत ब्र्याकेटमा थप्नेबारे संसदीय दलमा सहमति जुटेको थियो।
नाम सच्चाउनका लागि पुन: निवेदन लिएर गुरुङ निर्वाचन आयोग जाने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।