काठमाडौं- नायिका केकी अधिकारीले सामाजिक सञ्जालमार्फत् क्षमा मागेकी छन्। उनले आफूले कुनै समयमा जानी या नजानी दृश्य/अदृश्य रुपमा व्यावहारिक या वैचारिक विभेद गरेको भए माफी दिन आग्रह गरेकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, 'जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेदमा हामी सबैभित्र दृश्य/अदृश्य रुपमा जकडिएको छ। आफूले आफूलाई नियाल्न, मूल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्।'
'अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यावहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरको अन्तरहृदयबाट क्षमाप्रार्थी छु', उनले लेखेकी छन्।
आखिर उनले अहिले किन माफी मागिन् त? यही विषयमा नेपाल लाइभसँगको टेलिफोन संवादमा उनले भनिन्, 'मानिस भनेको सामाजिक जनावर हो, यसले जुन समयमा जस्तोसुकै विभेद गर्नसक्छ। मैले त्यस्तै जान-अन्जानका गरेका गल्तीको क्षमायाचना गरेकी हुँ।'
दलित भएकै कारण एक महिलालाई कोठा भाडामा नदिइएको भन्ने विषय यतिखेर चर्चामा छ। यस्तो अवस्थामा मागिएको क्षमायाचना प्रसंगवस मिल्न गएको अधिकारीले बताइन्।
उनले भनिन्, 'जानीनजानी हामी एकले अर्कोलाई विभेद गरिरहेका हुन्छौं, चाहे त्यो जातिय हिसाबले होस्, लैंगिक या वर्गीय। ती कुरामा कतिपय ठाउँमा म मौन रहें होला। मौन स्वीकृति दिनु पनि विभेदलाई टेवा पुर्याउनु हो भन्ने लाग्यो', केकीले भनिन्।
उनले अगाडि भनिन्, 'कतिपय ठाउँमा त्यस्ता विभेदबारे सुनेर बसियो होला, कतिलाई विभेद गर्न उक्साइयो होला। पुराना कुराबाट प्रेरित भएर आफूले पनि विभेद गरियो या बोलियो होला। त्यसैका लागि मैले क्षमायाचना गरेकी हुँ।'
आर्थिक र शैक्षिक हिसाबले सम्पन्न देशमा समेत काला र गोराको बीचमा विभेद रहेको उनले सुनाइन्। विकासको चरणमा रहेको नेपाल जस्ता देशका नागरिकले मान्छे मान्छेबीच विभेद गरिरेहकोले यसलाई अन्त्य गर्नुपर्ने बतताइन्।
दलित भनिएको समुदायमै समेत जात अनुसार विभेद रहेको भन्दै उनले भनिन्, 'हामी कोही पनि यसबाट अछुतो छैनौं। त्यही मनन गरेर मैले क्षमा मागेकी हुँ।'
अहिलेका युवापुस्ताले व्यवहारमा विभेद नदेखाएपनि मानसिक रुपमा भने पुरातन सोच कायमै रहेको पनि उनको भनाइ छ। भनिएका कुरा भन्दा नभनिएका कुरा, जुन ठाउँमा भन्नु आवश्यक थियो। त्यहाँ देखाएको मौनतामा क्षमा मागेको उनले दोहोर्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।