काठमाडौं– सुन तस्करी प्रकरणमा फरार रहेका निलम्बित एसएसपी श्यामबहादुर खत्री अदालतमा उपस्थित भएका छन्। उनी बिहीबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन्। उनलाई मंगलबार मात्र इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।
खत्री विमानस्थलका कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो। सोही आधारमा उनलाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध र हत्या मुद्दा चलाएको थियो।
उनकाे निर्देशनमा सुन तस्करी गरेको आरोपमा हवल्दार अमर बहादुर थापा मगर र जवान विष्णु खड्का पक्राउ परि छुटिसकेका छन्। थापा साधरण तारेखमा तथा खड्का १५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।
जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुरु भएको छ। आजै थुनछेक बहस हुने सम्भावना छ।
तस्करीका नाइकेमध्ये एक चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए।
सो प्रकरणमा पक्राउ परेका ६ जना प्रहरी अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।
एसएसपी खत्री गत वर्ष पनि सुन तस्करीमा पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेकोमा पछि उच्च अदालतबाट साधरण तारेखमा छुटेपछि उनको जागिर जोडिएको थियो। गृह मन्त्रालयको छानबिन समितिले अनुसन्धान सुरु गरेलगत्तै उनी फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।