काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानमा भएको व्यवस्था काटेर अध्यादेशमार्फत् बजेट ल्याउन नपाइने बताएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले सरकारले प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत् शासन चलाउन खोजेको बताए।
'अध्यादेशबाट बजेट ल्याउने भए जेठ १५ मा बजेट ल्याउने भनेर संविधानमा किन लेखेको? संविधानमा भएको व्यवस्था काटेर अध्यादेशमार्फत् बजेट ल्याइयो। यो गलत छ', थापाले भने।
थापाले राष्ट्रपतिले संविधान अनुसार चल्नुपर्ने पनि बताएका छन्। उनले राष्ट्रपतिले राजनीतिक आधारलाई हेरेर नभई संविधान हेरेर निर्णय गर्नुपर्ने बताए।
'राष्ट्रपतिले संविधान हेरेर निर्णय गर्ने हो कि राजनीतिक आधार हेर्ने हो? कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा हुन्छ। राष्ट्रपतिलाई होइन', थापाले भने।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा राष्ट्रपतिले संविधानका प्रक्रिया पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा त्यसो नगरिएको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।