काठमाडौं- नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भएको छ। तीन वर्षअघि दुर्घटनामा परेर उपचार अभावमा घरमै रहेकी कलाकार घिमिरेको हाल नर्भिकमा निःशुल्क उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन्। हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ। अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्।
हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ। डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ। उनले पछिल्लो समय बोल्ने कोशिस समेत गरिरहेकी छिन्। उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन्। ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ’, उपचार संलग्न चिकित्सहरु भन्छन्, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ।’
उनले सोझै खाना खान भने सकेकी छैनन्। पाइपमार्फत् खाना दिइने गरिएको छ। डा जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन्। डा जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा सामान्य हुने सम्भावना भने न्यून छ।
‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’, डा. जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन्। हामीले डाइट र थेरापीमा फोकस गरेका छौं। प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं। हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।