काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय उडान संख्या र गन्तव्य बढाउने निर्णय गरेकाे छ। हिजो सोमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारत लगायत थप १० देशमा उडान गर्ने निर्णय गरेकाे हाे। भारतकाे दिल्लीमा भने निरन्तर रूपमा एयर बबल सम्झाैता अनुसार सातामा २ उडान हुँदै आएकाे छ।
याेसँगै सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ थप १० देशका विभिन्न गन्तव्यमा साप्ताहिक रुपमा हुने उडान तालिका सार्वजनिक गरेको हाे। जसमा कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान हुने भएको छ।
त्यसैगरी, काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान, दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान हुनेछ। साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान, कुवेतमा कुवेती वायुसेवाले २ उडान र मलेसियाको हकमा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान गर्नेछन्।
त्यसैगरी, दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान, जापानमा नेपाली वायुसेवाले सातामा १ उडान, ओमनमा साता १ र चीनकाे छेङ्दु र गोन्जाओमा नेपाली वायुसेवाकाे १/१ र विदेशी वायुसेवाकाे १/१ गरि दुई गन्तव्यमा ४ उडान गर्ने गरी मन्त्रिपरिषद्बाटै तालिका तय भएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।