प्रतिकात्मक तस्वीर
काठमाडौं– काठमाडौंको एउटा मन्दिरबाट चोरी भएका ११ जान मूर्तिसहित काठमाडौं प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित आइतबार राति २ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका-९ घर भएका ४२ वर्षीय अंकित घिमिरे र गोकर्णेश्वर नगरपालिका-८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका-६ घर भएका ४६ वर्षीय रुपनायाण शाह रहेका छन्।
उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णले अनुसन्धान शुरु गरेको थियो।
चोरीमा संलग्नहरुको खोजीका क्रममा पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्तिसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।