विराटनगर– पत्रकार तथा वनका कर्मचारी हुँ भन्दै रकम असुली गर्दे हिँड्ने २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरीको इटहरी उपमहानगरपालिका-६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान छन्। प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
उनीहरूले आफूहरु वनको कर्मचारी र पत्रकार हौं, कार्यालयमा तेलको आवश्यक छ, सहयोग गर्नु, अन्यथा तपाईंहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूबाट रकम उठाउने गरेका थिए।
केही काठ मिलका सञ्चालकहरुले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका-१० स्थित माइवेनी मिलबाट पक्राउ गरेको हो।
उनीहरूमध्ये दधिरामको साथबाट नगद २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्प प्रसादको साथबाट नगद ७ हजार रूपैयाँ गरी जम्मा ३२ हजार ९ सय ९५ रूपैयाँ प्रहरीले बरामद गरेको छ।
उनीहरुको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको संवाददाता परिचयपत्र, १ थान बराह साप्ताहिकको संवाददाता परिचयपत्र समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।