काठमाडौं- आन्तरिक उडान बन्द भएको ५० दिनभन्दा बढी भइसकेको छ। तर, आन्तरिक उडान खुला गर्ने विषय भने अन्योलमै छ।
आन्तरिक उडान खुला गर्नुपर्ने भन्दै निजी हवाई सेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले २ पटकसम्म सरकारलाई अपिल गरिसकेको छ। तर, सरकारले भने यस विषयमा कुनै तयारी गरेको छैन।
बन्द भएको उडान खुलाउनुपर्ने भन्दै व्यवसायीले जेठ २५ गते र असार १ गते सरकारलाई ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि अन्तर्राष्ट्रिय उडान खुला गर्ने विषयमा छलफल भए पनि आन्तरिक उडानका विषयमा कुनै छलफल नभएको जनाकारी दिए।
तर, आन्तरिक उडान खुला गर्ने अवस्था भइसकेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन्। ‘अहिले बढाइरहेको निषेधाज्ञा अध्ययनबिना नै बढाइएको छ। मृत्युदर घटिरहेकको छ,’ बस्नेतले भने, ‘संक्रमणदर पनि घटिरहेको छ। वास्तवमै भन्ने हो भने दोस्रो चक्र अब सकिएको छ। यसकारण पनि आन्तरिक उडान खुला हुनुपर्छ।’
करबाट तलब सुविधा लिनेलाई यो विषयमा कुनै मतलब नभएको उनको आरोप छ। ‘असार १ गतेबाट नै निषेधाज्ञा जारी राख्नु भनेको हाम्रो अर्थतन्त्रलाई बन्देजमा राख्नु हो,’ बस्नेतले भने, ‘यसअघि सेप्टेम्बरमा उडान खुले पनि सबैभन्दा बढी कोरोना संक्रमण अक्टोबरमा पुगेको थियो। यसकारण पनि अब आन्तरिक उडान बन्द गर्न हुँदैन।’
विश्वमा कुनै पनि देशले आन्तरिक उडान बन्द गरेको छैन। भारतले पनि आन्तरिक उडान बन्द गरेका छैन। उडानबाट कोरोना संक्रमण सर्ने सम्भावन अति नै न्यून हुने अध्ययनहरुले पनि देखाएको बस्नेतको भनाइ छ।
बस्नेतका अनुसार पहिलोपटकको लकडाउनले पनि यो व्यवसाय धराशायी नै भएको थियो। साढे ६ महिनासम्म हवाई कम्पनीहरूको आम्दानी शून्य नै थियो। तर, उडान खुला भएको ७ महिनौ वायुसेवा कम्पनीहरू पहिलेकै अवस्थामा आइपुगेका थिए।
झन् अहिले वर्षाका कारणले सडक सञ्जालमा समस्या देखिन थालेकाले पनि यात्रुलाई सहजता दिन आन्तरिक उडान खुला गर्नुपर्ने वायुसेवा सञ्चालकहरूको भनाइ छ।
आन्तरिक उडान नखुल्दा उपत्यकाबाहिरबाट काठमाडौं आउने बिरामीलाई समेत असहजता भएको उनीहरुको भनाइ छ। तर, सीसीएमसी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो विषयमा कुनै तयारी गरेका छैनन्।
हवाई यात्रालाई सुरक्षित तवरबाट सञ्चालन गर्ने हो भने संक्रमण हुने सम्भावना अतिनै न्यून हुने संसारभरको अध्ययनले देखाएका कारण अब आन्तरिक उडान बन्दद गर्न नहुने वायु सेवा सञ्चालकहरु बताउँछन्।
तर, यता सरकार भने हवाई उडान खुला गर्दा सार्वजनिक सवारी नखुलाउने हो भने विरोध हुने भन्दै डराइहेको छ। निषेधाज्ञा सुरू हुँदा पनि सरकारले आन्तरिक हवाई उडान सञ्चालन गरिरहेको थियो। तर, सार्वजनिक सवारी सञ्चालकहरूको विरोधपछि वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गरिएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्ती उमाशंकर अरगरिया आन्तरिक उडान खुला गर्नुपर्छ भन्दैमा खुला नहुने बताउँछन्। ‘मन्त्रालय र मेरो मनसायत आन्तरिक उडान खुला गर्नु पर्छ भन्ने नै हो। विस्तारै एक गन्तव्य एक उडान गरी खुला गर्ने हाम्रो मनसायछ,’ मन्त्री अरगरियाले भने, ‘तर, आन्तरिक उडान खुुला गर्ने विषय सीसीएमसी हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएर आउनुपर्ने अवस्था छ। तर, त्यो भएको छैन। हामीले मात्रै उडान खुला गर्ने निर्णय पनि गर्न सक्दैनौं।’
आन्तरिक उडानमा हेलिकप्टर व्यवसायीकाे चाहिँ पहिलो लकडाउनको तुलनामा अहिले व्यापार बढेको छ। दैनिक ३० वटाभन्दा बढी हेलिकप्टर उडान भइरहेका छन्।
आन्तरिक उडानमा अहिले बुद्ध, श्री, यती, सौर्य, समिट, सीता र तारा एयरले उडान गर्दै आएका छन्। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि २ वटा जहाजमार्फत् उडान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।