काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन्।
आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनःनिर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन्। उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए।
‘पारदर्शी गरिदिनुहोला। म भ्रष्टाचार विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु। मेरो एउटै उद्देश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई। त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला’, मन्त्री अरगरियाले भने, ‘जतिबेला पनि म आफैं आएर हेर्नसक्छु। चेक गर्न सक्छु। त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु।’
मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए। निर्माणको काम सकिइसकेपछि उनीहरुलाई पुनर्स्थापना गरिने उनले बताए।
‘यो मन्त्रालय संस्कृतिको रक्षा गर्ने मन्त्रालय हो। संस्कृतिको रक्षा हुन्छ। बाबाहरु पहिलादेखि बसिराख्नु भएको छ भने नठान्दा हुन्छ कि हामीलाई विस्थापित गर्छ। यो कुरामा मन्त्रालय पनि सक्रिय भएर बाबाहरुको साथमा हुन्छ।’
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभूमिको रुपमा विकास गर्ने ध्येय रहेको बताए। उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे।
पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिरको निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।