काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा बजेट र गणतन्त्र दिवसमा कैद माफी पाएका पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको मुद्दा विशेष रुपमा उठाउने भएको छ।
बजेट र कैद मिनाहाबाट जेलमुक्त भएका ढुंगेलका विषयमा संसदीय दलको घारणा बनाउन बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारले बजेट मार्फत जनतालाई ऋणको बोझ थपेको बताए। २८ हजार ऋणको भार बोकिरहेका नेपालीलाई मंगलबारको बजेटले प्रतिव्यक्ति थप १४ हजार ऋण थपेको उनले बताए।
प्रमुख सचेतक खाँणले करको दायरा बढाउनुपर्नेमा कर वृद्धि गरिएको समेत टिप्पणी गरे। पाँच वर्षभित्रमा कृषि क्षेत्रमा शत प्रतिशत उत्पादकत्व वृद्धि गर्न सम्भव नरहेको उनले औंल्याए। त्यस रुपमा कृषि उत्पादन बढाउन १४ प्रतिशतभन्दा बढी कृषि उत्पादन बढाउन आवश्यक रहेको उनले बताए।
वाम दलले चुनावको घोषणापत्र अनुसार बजेट ल्याउन नसकेको समेत उनले टिप्पणी गरे। नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने मूल आधारशिलाका रुपमा रहेको बजेटलाई सपना देखाउने माध्यमको रुपमा उपयोग गरिएको समेत उनले आरोप लगाए।
संघीयताको मर्म विपरीतको बजेट आएकाले सरकारलाई संसद्बाट कांग्रेसले घचघच्याउने उनले बताए।
यस्तै, कर्तव्य ज्यानमा जन्मकैदको सजाय सुनाइएका ढुंगेललाई राजनीतिक उद्देश्यले माफी दिएर रिहाइ गरिनु आपत्तिजनक भएको बताउँदै यो विषयलाई पनि संसदमा उठाउने नेता खाँणले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।