काठमाडौं– कपिलवस्तु प्रहरीले कृष्णनगर नगरपालिकाअन्तर्गत पर्ने गाउँस्थित बाख्राको खोरबाट सर्ट गनमा लाग्ने लाइभ कार्टिज र बाह्रबोरको बन्दुकसहितका हतियार बरामद गरेको छ।
कृष्णनगर नगरपालिका वडा नम्बर ८ लोहरौला बस्ने बर्ष ३२ वर्षीय अस्लम मुसलमानको घरबाट १ किलोमिटर उत्तर–पुर्वमा पर्ने उनकै खेतमा रहेको बाख्राको खोरबाट प्रहरीले हतियार बरामद गरेको हो।
अस्लम मुसलमानले बाख्राको खोरमा हातहतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गणेशपुर र बहादुरगंजबाट खटिएको संयुक्त टोलीले विभिन्न हतियार बरामद गरेको हो।
बाख्राको खोरमा छानोको खरमुनि बोरा भित्र लुकाएर राखिएको अवस्थामा बाह्रबोर बन्दुक २ थान, सर्टगनमा लाग्ने लाएभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, ३०० ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला बरामद गरेको हो।
प्रहरीले हतियार लुकाएर राख्ने अस्लम मुसलमान भने फरार रहेका जनाएको छ। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।