मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीले नराम्रोसँग प्रभावित बनेको छ। मंगलबार रातिबाट आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका कयौं घर बगाएको छ भने केहीले ज्यानसमेत गुमाएका छन्। त्यस्तै बाढीका कारण कयौं वेपत्ता भएका छन्।
मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ।हेलम्बुबाट बग्ने मेलम्ची खोलामा निरन्तर लेदो बगिरहेको छ। मेलम्ची बजार क्षेत्र एकै रातको बाढीले बगरमा परिणत गरेको छ। सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन्।
बुधबार साँझबाट बाढी केही घटेको जस्तो देखिएपनि बढ्ने र घट्ने भइरहेको छ। बजार क्षेत्रका घरहरु बाढीमा आएको लेदोले भरिएका छन्। स्थानीयले तुलनात्मक रुपमा कम क्षति भएका घरहरुबाट सरसामान झिकिरहेका छन्।
बाढीका कारण फसेकाहरुलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको थियो भने उद्धार गरिएका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायत २५० तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएका छन्।
अहिले सरकारी निकाय र विभिन्न सामाजिक संघसंस्थाले मेलम्ची बजार क्षेत्रमा उद्धार र राहत वितरण गरिरहेका छन्। मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएसँगै तिम्बु बजार, चनौटे, ग्याल्थुम, तालामाराङ, किउल लगायतका क्षेत्रमा भने राहत र उद्धारको व्यवस्थापन राम्रोसँग हुन नसकिरहेको गुनासो आइरहेको छ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन्। आधा दर्जन भन्दाबढि रिसोर्ट र ट्राउट पालन केन्द्रहरु बगरमा परिणत भएका छन्।
तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको इलामा प्रहरी कार्यालय तिम्बुले जनाएको छ। निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनसमेत बगाएको छ। मेलम्ची–तिम्बु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बाढीले बगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।