काठमाडाैं- नेपाल वायुसेवा निगमले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियासँग भैरहवा र पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाबापतको राजस्वमा पाँच वर्षका लागि छुट गराउनुपर्ने माग अगाडि सारेको छ।
निगमका महाप्रबन्धक डिमप्रसाद पाैडेलले सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्नुपर्ने विषयसमेत मन्त्रीसमक्ष राखेका छन्। मन्त्री अरगरियाले सोमबार निगमका पदाधिकारीसँग छलफल गरेका थिए। निगमकै कार्यालयमा भएको छलफलमा पौडेलले यस्तो माग गरेका हुन्।
मन्त्रीले निगमसँग भएका विमानहरुको पूर्णउपयोग गरी नाफामूलक अवस्थामा पुर्याउन आह्वान गरेका थिए। ‘दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहन्छ,’ मन्त्री अरगरियाले भने, ‘निगमले कोरोनाको महामारीमा पनि आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेकोमा सन्तोष व्यक्त गर्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुन:प्राप्त गर्न ठोस कार्यको आवश्यकता छ। तपाईंहरु त्यसमा केन्द्रित हुनुहोस्।’
उनले निगम नाफामूलक मात्र नभइ सेवामूलकसमेत हो भन्ने अवधारणासहित अगाडि बढ्न सल्लाह दिँदै सरकारको तर्फबाट पूर्णसहयोग हुने प्रतिबद्धता जनाएका थिए।
मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगतितर्फ लैजान सम्बन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए। संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्पबारे अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
निगमका लागि अगाडि भएका प्रयास पर्याप्त नभएको अनुभव बताउँदै वर्तमान महाप्रबन्धक पौडेलबाट संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यावहारिक प्रयास भइराखेको जानकारी मन्त्रीलाई गराइएको थियो।
पौडेलले निगमलाई पुँजी वृद्धिको आवश्यकता अनुभव भएको बताउँदै व्यवस्थापनका उच्च सोच र कर्मचारीमा सामूहिक सक्रियताले संस्था प्रगतितर्फ लाग्ने बताए। निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम परिवार सकारात्मक रुपमा लागिपरेको उनले बताएका थिए।
सो अवसरमा महाप्रबन्धक पौडेलले यात्रुहरुका लागि विश्वको झण्डै आधा जनसंख्या भएको भारत र चीन राम्रो बजार रहेको र वैदशिक रोजगारीमा जानेहरु पनि पर्याप्त मात्रामा भएकोले निगमले क्षेत्रीय विमान कम्पनीकै रुपमा पनि लगानीको राम्रो प्रतिफल लिनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।