फाइल तस्बिर काठमाडाैं- चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट अन्य मुलुकमा हुने वस्तु निर्यात ३२.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार चालु आवको वैशाखसम्मको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
उक्त अवधिमा कूल एक खर्ब आठ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको राष्ट्र बैंकले जानकारी दिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले बढेको थियो।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ।
समीक्षा अवधिमा नेपालले विभिन्न मुलुकबाट गर्ने वस्तु आयात २२.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा छ। तथ्यांकअनुसार गत वैशाखसम्म नेपालले कूल १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयातर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिमा मुलुकको वस्तुगत व्यापार घाटा २१.५ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।