काठमाडाैं- चालु आर्थिक वर्षको १० महिनामा मुलुकको मूल्यवृद्धि ३.६५ प्रतिशत कायम भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार वैशाखसम्मको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
तथ्यांकअनुसार वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
२०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घिउ-तेल उपसमूहमा सबैभन्दा बढी २८.२० प्रतिशत मूल्यवृद्धि हुन पुगेको छ। यस्तै, माछा मासु, गैरमदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मूल्यवृद्धि कायम भएको छ। २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मूल्यवृद्धि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।