काठमाडौं- ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)माथि गण्डकी प्रदेशका एक प्रदेश सभा सांसदले धम्की दिएका छन्। डयुटीमा रहेका कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई सांसद मेखलाल श्रेष्ठले 'हिसाब किताब' हुने भन्दै धम्की दिएका हुन्।
सांसद श्रेष्ठसहित एक हुल मानिस शनिबार नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाँदै थिए। साेही क्रममा इन्स्पेक्टर थापा मगरको टोलीले निषेधाज्ञामा भिड गरेर हिँड्न नमिल्ने, सांसद बाहेक अन्यलाई अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएकाले हिँड्न नमिल्ने भन्दै रोकेको थियो।
इन्स्पेक्टर थापा मगरले सांसदसहितको टोलीलाई रोकेपछि सांसद श्रेष्ठले प्रहरीलाई धम्की दिएका हुन्। सांसद श्रेष्ठले 'नाम के हो हिसाब किताब हुन्छ' भन्दै ड्युटीका इन्स्पेक्टरमाथि धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
यस घटनाबारे कास्की प्रहरीले भने कुनै औपचारिक प्रतिक्रिया नदिने जनाएको छ। ‘कसरी बोल्ने, के बोल्ने भन्ने विषयमा सांसद जस्तो माननीयलाई हामीले सिकाउने कुरा भएन। के बोल्दा के असर पर्छ त्यो उहाँले बुझ्ने कुरा हो’, कास्की प्रहरीका एक अधिकृतले नेपाल लाइभसँग भने, ‘प्रहरीले आफ्नो ड्युटी गरेको हो। माननीयले यस्तो गर्नुभयो भन्दै प्रहरीले हिँड्ने कुरा पनि भएन। यो विषय उहाँ आफैंले बुझ्नुहोला के बोलेँ भनेर।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।