काठमाडाैं- विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि छ करोड अमेरिकी डलर (करिब पाैने सात अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ। बैंकको कार्यकारी निर्देशकहरुको बैठकले शुक्रबार उक्त सहयोग स्वीकृत गरेको छ।
उक्त सहयोग नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षालाई प्रभावकारी बनाउन तथा विपन्न र कमजोर विद्यार्थीहरुका लागि शैक्षिक संस्थामा पहुँच बढाउने कार्यका लागि खर्च गर्न उपलब्ध गराइएको हो।
'कोभिड-१९ महामारीले राम्रो पुनर्निर्माणमा प्राथमिकता दिनुपर्ने र मानव पुँजी विकासको महत्त्वलाई उजागर गरिदिएको छ,' माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद-जर्भोसले भने, 'गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार र विद्यार्थीहरूलाई श्रम बजारमा मागबमोजिमको सीप प्रदान गर्न मद्दत गर्नाले नेपालको कोभिड-१९ पुरुत्थानमा योगदान पुर्याउनेछ।'
उच्च शिक्षासँग सम्बन्धि अघिल्ला परियोजनाहरुले राम्रो नतिजा दिएको उल्लेख गर्दै विश्व बैंकले यो सहयोगले पनि उच्च शिक्षा सुधारमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेको छ। यसले नेपालको उच्च शिक्षालाई श्रम बजारको आवश्यकतासँग जोड्न र विशेषगरी अवसरबाट वञ्चित विद्यार्थीहरुका लागि उपयोगी बनाउन सहयोग पुग्ने बताइएको छ। कोभिडका कारण अनलाइन शिक्षाले व्यापकता पाएको उल्लेख गर्दै विश्वविद्यालयहरुमा यसको विकासमा यो सहयोग उपयोगी हुने विश्व बैंकको भनाइ छ।
'कार्यक्रमको मुख्य प्राथमिकता कोभिड-१९ का कारण आर्थिक कठिनाइको सामना गरिरहेका र पिछडिएका विद्यार्थीहरूको समावेशीकरणलाई प्रोत्साहित गर्नु हो,' विश्व बैंकको कार्यक्रम टास्क टिमका प्रमुख मोहन अर्यालले भने, 'यस कार्यक्रमले पिछडिएका विद्यार्थीहरुलाई लक्षित छात्रवृत्ति बढाउन र श्रम बजारमुखी शैक्षिक कार्यक्रम बनाउन मद्दत पुर्याउँछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।