सियोल- दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल सुरु भएको छ।
क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्। तर यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनु पर्नेछ।
स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा सुरु गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन्। यी देशहरुले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाई उडान खोल्न लागेको बताइएको छ।
दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ।
दक्षिण कोरियाका एक जना वरिष्ठ स्वास्थ्य अधिकारी यून टाइहोले प्रारम्भमा प्रत्यक्ष उडानबाट आउने तर खोप लगाएका यात्रुलाई प्रवेश दिइने र उनीहरुका बारेमा अनुगमन गर्ने दायित्व ट्राभल एजेन्सीलाई दिइने बताए। क्वारेन्टिन बस्न नचाहने यात्रुले आफूले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने तथा कोभिड-१९ परीक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने पनि उनले जानकारी दिए।
तर, कोरोना भाइरसको संक्रमण देखिएका देशसँगको उडान तत्कालै सुरु नहुने पनि उनले बताए। थाइल्यान्डमा हालैका साताहरुमा निकै ठूलो संख्यामा कोभिड संक्रमण फैलिएको छ र यहाँ दैनिक दुई हजारभन्दा बढी संक्रमित व्यक्ति फेला परेका छन्।
सिंगापुर र ताइवानमा पनि केही क्षेत्रमा कोभिड संक्रमण देखिएको छ। बुधबारसम्म करिब ९२ लाख दक्षिण कोरियालीले कम्तीमा एक डोज खोप लगाएका छन्। यो संख्या कूल जनसंख्याको करिब १८ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।