काठमाडौं– सुनसरीको धरान बसपार्कस्थित प्रहरी चौकी भित्र प्रवेश गरी खुकुरी प्रहार गर्ने तथा प्रहरी चौकी तोडफोड गर्ने ५ जना पक्राउ परेका छन्।
जेठ १३ गते धरान बसपार्कस्थित प्रहरी चौकीमा प्रवेश गरी केही युवाले खुकुरी प्रहरी गर्नुका साथै प्रहरी चौकी तोडफोड गरेका थिए। घटनाको दिनदेखि फरार रहेका ३ जनालाई प्रहरीले जेठ १८ गते धरानकै देउराली र २ जनालाई धनकुटाको छथरपोखरीबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु छन्। प्रहरीले उनीहरुलाई जेठ १८ गते धरानकै देउरालीबाट पक्राउ गरेको हो। यस्तै, ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी—४ बाट जेठ २४ गते पक्राउ परेका हुन्।
धरान बसपार्कस्थित प्रहरी चौकीमा आक्रमण हुँदा प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए।
जेठ १३ गते साँझ धरान १५ बाझगरामा रहेको प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खोजेपछि रोक्न खोज्दा चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका थिए भने उनीहरुले चौकी नै तोडफोठ गरेर फरार भएका थिए।
पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।